काठमाडौं । मुलुक सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको काँग्रेस सभापति थापाको आरोप, विधि प्रक्रियाको सीमा नाघ्न थालेको टिप्पणी ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनु भयो । वर्तमान सरकार बरालिएर हिँडेको उहाँको आरोप छ ।
बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रश्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली काँग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने गरी ठोस निर्णय लिइने महामन्त्री पौडेलले बताउनु भयो ।
तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।