काठमाडौं   श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक फैल्याएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले चीन–भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्वीपक्षीय व्यापारका सम्बन्ध सरकारले प्रभावकारी कुटनीतिक वार्ता गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले सेनालाई सीमा सुरक्षामा खटाउनुको सट्टा सुकुम्बासी बस्ती हटाउने कार्यमा प्रयोग गरेकोप्रति आपत्ति गर्नुभएको छ ।

गरिब सुकुम्बासीलाई बेघर बनाई आत्महत्यासम्म गर्न बाध्य बनाउने सरकार असफल भइसकेको टिप्पणी समेत गर्नुभयो । उहाँले नेपाली सेनालाई सुरक्षाको लागि लिपुलेकतिर पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष राईले संसद बोलाउनुपर्ने समयमा सरकारले अध्यादेश ल्याउँदा जनमतको अपमान भएको टिप्पणी समेत गर्नुभएको छ ।