काठमाडौं चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टन बढी रासायनिक मल आपूर्ति भएको कृषि मन्त्री चौधरीको दावी, असारदेखि साउनसम्म ९० हजार मेट्रिक टन मल भित्रिने लक्ष्य ।।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टन भन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गिता चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँले ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको बताउनुभयो । उहाँले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताउनुभएको छ । मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभएको छ । आगामी असारदेखि साउनसम्म करिब ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि बताउनुभयो ।
मन्त्री चौधरीले मलको समान वितरणको लागि एकद्धार प्रणाली लागू गरिएको समेत मन्त्री चौधरीले बताउनुभएको छ । उहाँले मल सम्बन्धी सूचना हेर्न मिल्नेगरी मल व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको समेत बताउनुभयो ।