काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा हालसम्म सरकारी आँखा अस्पताल नै नरहेको बताउनुभएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले नेपाल सरकारको मातहतमा हालसम्म कुनै पनि सरकारी आँखा अस्पताल नरहेको स्वीकार गर्नुभएको हो । उहाँले कोशी अस्पतालबाट सरकारी आँखा अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँले कोशी अस्पताललाई आँखा अस्पताल बनाउन अस्पतालको अतिक्रममित जग्गालाई अस्पताल मातहात ल्याईएको बताउनु भयो । आँखा अस्पतालको लागी आवश्यक निर्माण प्रश्ताव तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । विराटनगरलाई स्वास्थ्य सेवाको प्रमुख केन्द्र (हब) का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले छात्रवृत्तिमा अध्ययन गरेका नेत्ररोग विशेषज्ञ लगायत चिकित्सकलाई सरकारी अस्पतालमै सेवा दिने व्यवस्था मिलाइने पनि बताउनु भयो ।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई मेडिकल टुरिजमसँग जोड्ने सरकारको योजना रहेको पनि जानकारी दिनुभयो । नरदेवी अस्पताल, कीर्तिपुर अस्पताल तथा बुढानीलकण्ठमा निर्माणाधीन पञ्चकर्म केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको मेडिकल टुरिजम गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाई छ । उहाँले बढ्दो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर नरदेवी र कीर्तिपुरका वेलनेस सेवाहरू संचालनमा ल्याएको बताउनुभयो । उहाँले विदेशमा महँगो शुल्क तिरेर लिइने यस्ता सेवा नेपालमा ३ देखि ५०० रुपैयाँको न्युन शुल्कमा उपलब्ध रहेको बताउनु भयो । उहाँले ती सेवाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।