काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिडिँरहेको आरोप लगाउनुभएको छ । 

नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिवद्धताबाट पछि हटेको आरोप लगाउनुभएको हो । निर्वाचनबाट दुई तिहाईको सरकार बनेको भएपनि सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उहाँले बताउनु भयो । गठन भएको छ महिनामै सरकार सुशासन र सेवा प्रवाह सुधारका प्रतिवद्धताबाट पछि हट्न थालेको उहाँको आरोप छ । वर्तमान सत्तारुढ दलले चुनावका बेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तिब्र बनाउने प्रतिवद्धता जनाएको भएपनि अहिले ती प्रतिवद्धता कार्यान्वयन गर्नुको सट्टा उल्टो दिशामा अघि बढेको उहाँले दाबी गर्नुभयो । 

उहाँले सरकारले लोकतन्त्रमा नागरिकलाई सङ्गठित हुने अधिकारको पनि कुण्ठित गर्न खोजेको आरोप लगाउनु भयो । विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिने काम सरकारबाट भएको उहाँको भनाई छ ।