काठमाडौं नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारेको बताउनुभएको छ।

नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा न्युन आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको हो । बजेटमा काँग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनुभयो । उहाँले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काँग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभएको छ । सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उहाँले बताउनुभयो ।

सभापति थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ (निर्देशित लोकतन्त्र) तर्फ धकेल्न खोजेको आशंका व्यक्त गर्नुभएको छ । पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताकोबीचमा जान निर्देशन दिनुभयो ।