काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र दु्रत आर्थिक विकासको काममा प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ ।
ललितपुरमा बिहीबार आयोजित विकास बहस सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो । मन्त्री खनालले नागरिकहरुमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरुलाई अघि बढाउन आवश्यक रहेको बताउनुभएकोछ । उहाँले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताउनुभयो । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाई थियो ।
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक संघ, संस्थाहरुको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो ।