काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध नेपालको आधारशीलाको रुपमा ग्रहण गर्दै अघि बढाउने बताउनुभएको छ ।
राष्ट्रपतिले सोमबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान दलहरूसँगको सहकार्यमा संशोधन गरिने प्रष्ट्याउनुभयो । सबै वर्ग, क्षेत्र र समूदायको समान अपनत्व सुनिश्चित हुनेगरी राजनीतिक दलहरुसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन हुने राष्ट्रपतिको भनाई छ । राष्ट्रपतिले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानको रुपमा अघि बढाउने प्रयास भइरहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रपतिले सबै आर्थिक कारोबारलाई डिजीटल प्लेटफर्ममा आवद्ध गरी राजस्व चुहावट मुक्त आर्थिक क्षेत्रको विकास गरिने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
त्यस्तै, सरकारले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत वचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको हो । राष्ट्रपति पौडेलले सोही कार्यका लागि यसअघि नै अध्यादेशमार्फत सहकारी ऐन संशोधन गरिसकेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्याधिक ऋण, मिटरब्याज अपराध नियन्त्रण गरिने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले ऋण बजार, वन बजार र पूर्वाधार जोखिम व्यवस्थापन गर्न उपकरण विकास गरी दीर्घकालीन गरिने बताउनुभयो ।