काठमाडौंएमालेका उपाध्यक्ष विष्णु पौडेलले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचे अनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो। पार्टीको पछिल्लो बैठकका निर्णयहरूको बारेमा जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनुभयो । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताउनुभएको छ । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।