काठमाडौं ।
नेकपा एमालेका संघीय सांसदहरुले १५ दिनको पारिश्रामिक रसुवा बाढी पीडितहरुलाई दिने भएका छन् ।
एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रामिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो । सांसदहरुको पारिश्रामिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने उहाँले बताउनु भयो । उहाँकाअनुसार एमालेले बाढीपीडितको राहतका लागि यसअघि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एमालेले बाढीपछि उद्धार तथा राहतमा सरकारले प्रभावकारी रुपमा काग गर्न नसकेको एमालेले निष्कर्ष निकालेको छ । सरकारले समयमा नै बाढी प्रभावितहरुको उद्धार गर्न नसकेका कारण कयौँ मानिसले ज्यान गुमाउने अवस्था बनेको एमाले सचेतक महरले बताउनु भयो । पीडितले राहतसमेत प्रभावकारी रूपमा प्राप्त गर्न नसकेको उहाँको भनाई छ ।
उहाँले सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा अझै उद्धार कार्य हुन नसकको बताउनु भयो । शव व्यवस्थापनमा पनि सरकारको कमजोरी देखिएको उहाँको भनाई छ । शव पहिचान नगरी सम्बन्धित परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिएको भन्दै उहाँले यस्तो कार्य रोक्नुपर्ने बताउनु भयो ।
उहाँका अनुसार एमालेले उद्धार, राहत, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । बुधवार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गर्ने र उक्त बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो ।