काठमाडौं प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो जानकारी गराउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली सम्मत रहेको उल्लेख गर्नुभयो ।

उहाँले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताउनुभएको छ । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

विपक्षी दलहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्री शाहको आधिकारिक धारणा माग गर्दै सदनमा अवरोध सिर्जना गरेपछि सभामुख अर्यालले सदन सुचारु गर्न यस्तो अपिल गर्नुभएको हो ।