काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जातिको सांस्कृतिक राष्ट्रिय अखण्डता बलियो हुने बताउनु भएको छ ।
राष्ट्रपतिले आदिवासी जनजाति आयोगद्वारा आइतबार आयोजित कार्यक्रममा मुलुकको संविधानले सबै समुदायको हकहितलाई सुनिश्चित गरेको स्मरण गराउँदै जनजातिको पहिचान र संस्कृति राष्ट्रिय गौरवको रुपमा रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपतिले राज्यको नीतिनिर्माण तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपतिले ‘आदिवासी जनजातिहरू यस धर्तीका धर्तीपुत्रहरु हुन्’ भन्दै उनीहरुको जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको प्रष्ट्याउनुभएको छ । राष्ट्रपतिले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक बनाएर आर्थिक सशक्तीकरण गर्न आवश्यक रहेको समेत बताउनुभएको छ ।