काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नु भएको छ । 

राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले उक्त घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।