काठमाडौं। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय लिएको हो । बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेकाले त्यो अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभएकाे हाे ।

प्रधानमन्त्रीले संसद्बारा देशवासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट पनि उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयाे । उहाँले सदन खोल्न सरकारको तर्फबाट कुनै चासो र पहलकदमी नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गर्नुभयाे ।

सदन खोल्न सत्तापक्षबाट विभिन्न प्रस्तावहरू आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुरा राख्नेसमेत निर्णय भएको उहाँको भनाइ छ । महरले करका दर हेरफेरबारे समेत विपक्षी दलको गम्भीर ध्यानाकर्षण भएकाले यसको छानबिनका लागि संसदीय समिति बनाउनुपर्नेमा एकमत रहेको बताउनुभएकाे छ ।

बैठकमा श्रम संस्कृति पार्टी बाहेकका विपक्षी दलका सांसदहरूको उपस्थिति रहेको थियो ।