भक्तपुर भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बुधबार उत्साहका साथ मनाइएको छ ।
यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुख्र्यौली परम्परालाई निरन्तरता दिएका हुन् । गत चैत मसान्तमा शुरु हुने बिस्केट जात्राको विशेष आकर्षणको रूपमा रहेको यो जात्रा हेर्न हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ । जात्राको क्रममा सुजनले करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए ।
जिब्रो छेड्नु अघि उनले स्थानीय देवीदेवताको पूजा अर्चना गरेका थिए । जिब्रो छेडिसकेपछि उनले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । यो जात्राको आफ्नै ऐतिहासिक र धार्मिक महत्व रहेको हो । किम्वदन्ती अनुसार बोडेमा दुःख दिने नीलबाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको सम्झनामा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र त्यहाँको माटो लगाइन्छ । जसले घाउ निको हुने जनविश्वास रहेको छ ।