काठमाडौं ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कोशी प्रदेश सरकारले भारतसँग जोडिएका दक्षिणी सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएर नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरेको छ । विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय सुरक्षा बैठकले सीमा क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले आइतबार रातिको घटनापछि सीमा क्षेत्रबाट हुन सक्ने बाह्य घुसपैठ, हातहतियार तथा लागूऔषध ओसारपसारको जोखिम रोक्न अतिरिक्त प्रहरी परिचालन गरिएको बताउनुभयो । तनाव जारी रहेको सुनसरीका दक्षिण क्षेत्रमा मधेश प्रदेशबाट पनि प्रहरी टोली खटाइएको छ । कोशी प्रदेशका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाएर सुरक्षा बलियो बनाइएको छ ।

आइतबार राति दुई धार्मिक समुदाबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर अन्य १० जना घाइते भए । घटनामा १२ जनाभन्दा धेरै प्रहरी पनि घाइते भभए । उक्त घटनापछि सुनसरीका सबै दक्षिणी क्षेत्र र सदरमुकामा इनरूवामा पनि तनाको अवस्था छ । अनियन्त्रित समूहले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेपछि सेनासमेत परिचालन गरिएको छ ।