काठमाडौं ।

सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

गृहमन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । सुनसरी घटनाका विषयमा छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि डाकिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

अहिले स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो । छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए । यस्तै स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।

कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।