काठमाडौं जेनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।
अभियन्ता अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गर्नुभएको हो । उहाँले लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ ।
उहाँले गत भदौ २३ गतेको आन्दोलन शुरुमा सरकार ढाल्ने नियतले नभई अनियमितताविरुद्ध र राज्यको न्युनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पार्नुभयो । संविधान निर्माणपछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चश्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उहाँको तर्क छ ।
सुरक्षा निकायको भूमिकामाथि कडा प्रश्न उठाउँदै अभियन्ता अन्सारीले राज्यको गुप्तचरी र पूर्वतयारी शून्य देखिएको आरोप लगाउनुभयो । लोकतन्त्रलाई दिगो बनाउन संस्थागत सुदृढीकरण र विचारको ध्रुवीकरणलाई रोक्नुपर्नेमा उहाँको जोड छ ।