काठमाडौं

पश्चिम एशियामा जारी द्धन्द्धका कारण कच्चा तेलको मूल्य उच्च रूपमा वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा यस्तो निर्णय गरेको हो। सोही निर्णय अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत कटौती गरिने भएको छ । नेपाल आयल निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ भन्सार शुल्क लाग्दै आएकोमा अब घटेर १२ दशमलव ५ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रुपैयाँ रहेको भन्सार शुल्क घटेर ६ रुपैयाँमा हुने भएको हो । मन्त्रिपरिषद्ले भन्सार शुल्कसँगै पूर्वाधार करमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। हाल प्रतिलिटर १० रुपैयाँ रहेको पूर्वाधार कर घटाएर ५ रुपैयाँ कायम गरिने भएको हो । निगमले हाल डिजेलमा प्रतिलिटर १ सय २० रुपैयाँ र पेट्रोलमा ३४ रुपैयाँ घाटा रहेको जनाएको छ । पछिल्लो एक महिनामा मात्रै निगमले करिब ११ अर्ब रुपैयाँ घाटा व्यहोरेको समेत जानकारी गराएको छ ।