काठमाडौ ।

जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरुले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताउनुभएको छ । 

काठमाडौंमा बिहीवार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुको पार्टीले सक्रिय राजसंस्थाको परिकल्पना नगरेको पनि स्पष्ट पार्नुभयो । राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भुमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्न चाहेको उहाँको भनाई छ । राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुनःस्थापना गर्ने बताउनु भयो ।

उहाँले पार्टीले सनातन धर्मलाई आधार मान्दै किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति लिने बताउनु भयो । उहाँले नवगठित पार्टीलाई युवा र महिला केन्द्रित बनाइने दाबी गर्नुभयो । पार्टीको केन्द्रिय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ । जिल्ला र निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने र निर्णय प्रक्रिया बहुमत तथा सर्वसम्मतिको आधारमा सञ्चालन हुने उहाँको भनाई छ ।

नयाँ पार्टीमा नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने उहाँले दाबी गर्नुभयो । उहाँले पार्टीलाई कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन बनाउने उल्लेख गर्नुभयो ।

राणाले साउनको २८ गते पार्टी दर्ताको लासग निर्वाचन आयोगमा निवेदन दिने जानकारी दिनुभयो । पार्टीको नेतृत्व आफूले गर्ने तथा दुर्गा प्रसाईंलाई प्रमुख सर्वमान्य नेताका रूपमा अघि बढाइएको उहाँको भनाई छ । पार्टीको चुनाव चिह्नबारे भने छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीको संगठनलाई गाउँ तहसम्म नै विस्तार गरेर आगामी स्थानिय तहको निर्वाचनमा भाग लिने बताउनु भयो ।