काठमाडौं ।

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताउनुभएको छ । 

उहाँले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पार्नुभयो । आईतवार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताउनु भयो । सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने बताउनु भयो ।

आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो । उहाँले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो धार्मिक आस्थाका बारेमा थप प्रस्ट पार्दै देउवाले आफूले गुहेश्वरीमा हिन्दु ऋतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गर्नुभयो ।

आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताउनु भयो । देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उहाँले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताउनु भयो । सो क्रममा उहाँले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको बताउनु भयो ।