काठमाडौं ।
नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताउनुभएको छ ।
उहाँले काँग्रेसलाई विभाजित नभई एकतावद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पार्नुभएको हो । सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोईरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसले नेपाली काँग्रेससँगै नेपालको राजनीतिको आगामी दिशासमेत तय गर्ने बताउनु भयो ।
संस्थापन पक्षले संस्थापन इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोईरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताउनु भयो । उहाँले आफूहरूले पटक–पटक एकतावद्ध भएर अघि बढ्न र वार्तामा बस्न आग्रह गरेको दाबी गर्नुभयो । पूर्वसभापति शेरबहादुर देउवासहित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पनि वार्ताका लागि आग्रह गरिएको उहाँको भनाइ छ । कोईरालाले काँग्रेसको भविष्य सुरक्षित गर्नु आफूहरूको जिम्मेवारी भएको भन्दै पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।
देउवासँग भेटका लागि समय माग्दा नदिइएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले देउवा व्यस्त भएको हुनसक्ने बताउनु भयो । तर भेट्नै नचाहेको भन्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
उहाँले १५ औँ महाधिवेशनलाई पार्टीको आन्तरिक विषयमा मात्र सिमित नभई नेपालको राजनीतिक भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो ।