काठमाडौं ।

विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तिकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । 

आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया शुरु हुने जानकारी दिएको हो ।

सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘मिसेस कस्मो’ विधालाई पनि समेटेको छ । मिसेस कस्मो म्यानमारको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा यसै संस्करणबाट थप गरिएको आयोजकले जनाएको छ ।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाकाअनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गतेका लागि तय गरिएको छ । प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेका लागि उचाई र तौलको कुनै सीमा तोकिएको छैन । यस प्रतियोगितामा विवाहितका साथै सम्बन्ध विच्छेद भएका वा एकल महिलाहरूले समेत प्रतिस्पर्धा गर्न पाउनेछन्। इच्छुक प्रतिष्पर्धीहरूले ‘खल्ती’ एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । 

कार्यक्रममा बोल्दै राष्ट्रिय निर्देशक तथा कोरियोग्राफर अश्विनीकान्त झाले विवाहपछि पनि महिलाहरूको सपनाको अन्त्य नहुने र उनीहरूलाई नयाँ पहिचान दिलाउन यो मञ्चले सेतुको काम गर्ने बताउनु भयो । उहाँले छनोट भएका प्रतिष्पर्धीहरूलाई ४५ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष तालिम प्रदान गरिने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्त (आईटी इन्जिनियर) र मिसेस नेपाल इन्टरनेसनल २०२५ की विजेता सञ्जु भट्ट (प्याथोलोजिस्ट) ले आफ्नो अनुभव साझा गर्दै यो मञ्चले आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । काठमाडौं बाहिर पोखरा, इटहरी र विराटनगर जस्ता शहरहरूमा पनि छनोट प्रक्रिया अघि बढाइने बताइएको छ । प्रतियोगिताको मुख्य विजेताले ‘मिसेस नेपाल वल्र्ड’ को ताजका साथै अमेरिकामा हुने ‘मिसेस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । त्यस्तै अन्य विजेताहरूले ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘मिसेस नेपाल कस्मो’ को उपाधि सहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्नेछन् ।