काठमाडौंनेकपा (एमाले) का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराउनु भयो ।
नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पती विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाउनु भयो ।
राष्ट्रको सम्पती जलाउने जस्तो गम्भीर अपराधलाई ‘पचाउने’ प्रयास भइरहेको भन्दै उहाँले यसलाई सानोतिनो विषय नमानी गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीको यो भनाइले वर्तमान शासन शैली र सुरक्षा अवस्थाप्रति उहाँको कडा असन्तुष्टि व्यक्त गरेको छ ।