ऐजेन्सी
अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ ।
इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने चेतावनी दिएको छ । इरानी सैन्य सङ्गठनका अनुसार, उसको वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । त्यसैगरी, इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
इरानले अमेरिकाले दक्षिणी क्षेत्रमा गरेको हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो । इरानी पक्षका अनुसार उक्त अमेरिकी हमलामा ५४ जनाभन्दा बढी मानिस मारिएका तथा घाइते भएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै होर्मोजगान प्रान्तको सिरिक जिल्लामा भइरहेको विवाह समारोहलाई लक्षित गरी गरिएको अमेरिकी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तथा ५० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।