एजेन्सी
स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँभन्दा बढी घाइते भएको बताइएको छ ।
एउटा रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनापछि रेलका धेरै वटा डिब्बाहरू किनारको ढिस्कोबाट तल खसेका थिए । म्याड्रिडबाट करिब १ सय ४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले कम्प्युटर प्रणालीमा आएको गडबडी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यो दुर्घटना युरोपको आधुनिक इतिहासकै एक खराब र पछिल्लो १३ वर्षयताकै स्पेनमा भएको सबैभन्दा ठूलो रेल दुर्घटना हो । निजी रेल सञ्चालक इरियोको स्वामित्वमा रहेको र १ सय ४७ जना यात्रु बोकेको रेल कम्प्युटरमा आएको खराबीका कारण लिकमै रोकिएको थियो ।
यता, इरियो कम्पनीले आफ्नो रेललाई स्पेनको सरकारी रेल्वे कम्पनी रेनफेद्वारा सञ्चालित र ३ सय ९७ जना यात्रु बोकेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ । दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कनका लागि झ्यालका सिसाहरू फोडेको बताएका छन् ।