एजेन्सी
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) ले देशमा तिब्र रूपमा फैलिरहेको इबोला महामारी नियन्त्रण गर्न १८० दिने नयाँ ‘बहुक्षेत्रीय प्रतिकार्य योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस परिमार्जित योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको बजेट आवश्यक पर्ने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा तयार पारिएको यो योजनाले आगामी छ महिनाका लागि इबोला विरुद्धको अभियानमा परिचालन हुने संयन्त्रको मार्गचित्र तय गरेको छ ।
डब्लुएचओको अफ्रिकी क्षेत्रीय कार्यालयका अनुसार ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको यो महामारीबाट सेप्टेम्बर २ सम्ममा ६ हजार ३४२ जना सङ्क्रमित भइसकेका छन् भने ३ हजार ७२ जनाले ज्यान गुमाएका छन् । हाल यो सङ्क्रमण देशका ६ वटा प्रान्तका ६० वटा स्वास्थ्य क्षेत्रहरूमा फैलिएको छ ।
स्वास्थ्य अधिकारीहरूले पछिल्लो समय अस्पतालसम्म नपुगी समुदायस्तरमै सङ्क्रमितहरूको मृत्यु भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । कङ्गोका लागि डब्लुएचओका कार्यवाहक प्रतिनिधि एन एन्कियाले भन्नुभयो, ‘प्रत्येक ढिलो पहिचान भएको केस, सम्पर्कमा नआएका व्यक्तिहरू र स्रोत परिचालनमा हुने ढिलाइले थप मानवीय क्षति निम्त्याइरहेको छ ।’ उहाँले ठूलो स्तरमा छिटो र समन्वयात्मक कार्य गर्न आह्वान समेत गर्नुभयो ।
कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले इबोला नियन्त्रणको प्रयास स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई यसमा सरकारी निकाय, समुदाय, साझेदार र दाताहरूको एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार आफ्ना नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनु भयो ।