एजेन्सी

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । 

उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पु¥याइएको छ ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् । केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए ।

उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए । सोमबार जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । गोपालगञ्जमा हिंसात्मक प्रदर्शन भएको समयमा हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताउँदै आएकी छन् । ७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् । हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी लडाइँ लड्ने र स्वदेश फर्किने बताएकी छन् ।