अमेरिका र इजरायलले संयुक्त रुपमा इरानविरुद्ध युद्ध शुरू गरेको आइतबार एक सय दिन पूरा भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि सय दिनसम्म निष्कर्षमा पुग्न अझै नसकेको हो । वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव झनै बढेको छ । यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमणको रुपमा लिएको छ । कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कडा निन्दा गरेको हो ।

पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो । यसको जवाफमा इरानले इजरायल र पश्चिम एशियाका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द गरिदिएको होे । जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । गत अप्रिल ६ तारिखमा दुई पक्षबीच अस्थायी युद्धविराम भए पनि समय–समयमा झडपहरू भइरहेका छन् । हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायमै हो ।