अमेरिका र इरानबीच शान्ति वार्ताको आशाले कच्चा तेलको मूल्य घटेको छ ।

दुई देशबीच शान्ति वार्ताको आशाले ऊर्जा आपूर्तिमा थप अवरोधहरूको चिन्ता हटेपछि आज तेलको मूल्य झन्डै १ प्रतिशतले घटेर प्रतिब्यारेल ९८ दशमलव ४० अमेरिकी डलरमा झरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूहरूसँग सम्झौता गर्न चाहेको दाबी गर्नुभएको छ ।

तर इरानलाई आणविक हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतालाई आफूले अनुमोदन नगर्ने उहाँको भनाइ छ । यसअघि पाकिस्तानको इस्लामाबादमा दुई पक्षबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानको बन्दरगाह नाकाबन्दी गर्ने आदेश दिएपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो इस्लामाबादमा तनावपूर्ण वार्तापछि अमेरिका र इरानले वार्ताको ढोका खुला राखेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पनि दुई देशबीच द्वन्द्व समाधान गर्न प्रयास भइरहेको बताउनुभएको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग भएर आउजाउ गर्ने जहाजहरूमाथि नियन्त्रण राखेको छ । यस्तै अमेरिकाले हिजोदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ ।हर्मुज जलमार्गमा अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कट बढ्दै गएको छ भने विश्व अर्थतन्त्र प्रभावित हुने सङ्केत देखिएको छ ।