काठमाडौं

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ७० रनको लक्ष्य अमेरिकाले २७ ओभर १ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।

अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रन बनाएका छन् । स्कटल्यान्डका ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिएका हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३ ओभर ३ बलमा १ सय ६९ बनाउँदा अलआउट भयो । स्कटल्यान्डका मार्क वाटले ६६ रन बनाए ।

अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिएका थिए । यो जितसँगै अमेरिका २७ खेलमा ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको हो। कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् ।

शृङ्खलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिकाबीच खेल हुने भएको हो । लिग–२ तालिकामा नेपाल २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ ।