काठमाडौ ।

जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । 

थाइ एयरमार्फत नेपाली टोली बुधबार दिउँसो स्वदेश फर्किएको हो । दुई दिनअघि आउने तय भएपनि थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको थियो । नेपालले थाइल्यान्ड र श्रीलंकालाई हराएर सेमिफाइनल पुग्दै कांस्य पदक हात पारेको थियो । नेपाल सेमिफाइनलमा भने भारतसँग पराजित हुन पुग्यो । नेपाली महिला कबड्डीले यसअघि १९औं एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो । स्वदेश फर्किएपछि टोलीकी कप्तान मानमती विष्टले मुख्य सपना फाइनल खेल्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा परेकाले निकै चुनौतीपूर्ण भएको बताइन् । एसियालीस्तरको ठूलो मञ्चमा आफ्नो पदकलाई कायमै राख्न सफल हुनु ठूलो उपलब्धि रहेको उनले बताइन् । उनले रणनीति सोचेजस्तो पूर्ण रूपमा सफल हुन नसके पनि प्राप्त कास्य पदकमै टोली सन्तुष्ट र खुसी रहेको उल्लेख गरिन् । आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्ड नहुने समस्या पहिलेदेखि रहे पनि प्रतियोगिता सुरु हुनु भन्दा ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर केवल खेल, पदक र देशको झण्डा फर्फराउने कुरामा मात्र ध्यान केन्द्रित गरेको उनले बताइन् ।