काठमाडौं ।
सोमबारदेखि हुने नेपाल प्रिमियर लिगको सम्पूर्ण तयारी पूरा, प्रतियोगिताका लागि ७० करोड बढी आर्थिक कारोबार हुने अनुमान ।
नेपाल क्रिकेट संघ (क्यान का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताउनुभएको छ ।
उहाँले एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताउनु भयो । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरेको पनि उहाँले जानकारी दिनुभयो ।
क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताउनुभयो । खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिनुभयो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको एउटा महत्वपूर्ण कडी भएको बताउनु भयो ।