एजेन्सी अमेरिकाको वासिङ्टन डीसीस्थित एक होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डपछि युरोपका शीर्ष नेताहरूले कडा निन्दा गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् सहभागी भएको कार्यक्रममा भएको गोलीकाण्डप्रति युरोपेली नेताहरूले चिन्ता व्यक्त गरेका हुन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले उक्त घटनालाई अस्वीकार्य भन्दै लोकतन्त्रमा हिंसाको कुनै स्थान नहुने बताउनुभयो् । उहाँले ट्रम्पप्रति पूर्ण समर्थन व्यक्त गर्नुभएको छ् । उता, युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोष्टाले घटनालाई गम्भीर रूपमा चिन्ताजनक भएको बताउनुभयो । सार्वजनिक जीवनमा राजनीतिक हिंसालाई पूर्णरूपमा अस्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै, बेलायतका प्रधानमन्त्री किर स्टार्मरले आफू स्तब्ध भएको बताउँदै लोकतान्त्रिक संस्था र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि आक्रमणको कडा शब्दमा निन्दा गर्नुपर्ने बताउनुभयो । युरोपेली आयोगकी अध्यक्ष ऊर्सुला भोन देर लेयेनले राजनीतिमा हिंसाको कुनै स्थान नहुने भन्दै प्रहरी र उद्धारकर्ताहरूको शीघ्र कार्यको प्रशंसा गर्नुभएको छ् ।

युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कल्लासले स्वतन्त्र प्रेसलाई सम्मान गर्ने कार्यक्रममा यस्तो डरको वातावरण सिर्जना हुनु दुःखद भएको बताउँदै घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले ट्रम्प र अन्य सहभागी सुरक्षित रहेकोमा राहत महसुस गरेको बताउनुभयो् ।
उहााले कार्यक्रममा सहभागी स्विडिस पत्रकारहरूप्रति सहानुभूति व्यक्त गर्नुभएको छ् ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै ट्रम्प र उहाँकी पत्नीप्रति आफ्नो विचार र प्रार्थना रहेको बताउनुभयो । इटाली, स्पेन, पोर्चुगल, ग्रीस, आयरल्याण्ड, नेदरल्यान्ड्स, युक्रेन, इस्टोनिया, अल्बानिया, लाट्भिया, कोसोभो र लिथुआनिया लगायत अन्य युरोपेली देशका नेताहरूले पनि उक्त घटनाको निन्दा गर्दै सहभागीहरू सुरक्षित रहेकोमा राहत व्यक्त गरेका छन् ।