काठमाडौं ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१र८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले राज्यलाई सर्वाधिक आयकर बुझाएबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको यो सातौँ पटक हो।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा नोबेललाई सम्मानपत्र प्रदान गरेको हो। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नोबेल मेडिकल कलेजकी बोर्ड सल्लाहकार सोइना शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। सम्मानपत्रमा आर्थिक वर्ष २०८१र८२ को आय विवरणअनुसार नोबेलले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको उल्लेख छ।

सम्मानपत्रमा अर्थमन्त्री वाग्लेसँगै अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालको हस्ताक्षर छ। सम्मानपत्रमार्फत संस्थालाई बधाई दिँदै भविष्यमा अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्ने गरी थप योगदान पुर्‍याउने अपेक्षासमेत गरिएको छ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रका संस्थामध्ये सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा नोबेलले पटकपटक सरकारी सम्मान प्राप्त गर्दै आएको छ। निजी क्षेत्रबाट सञ्चालित यस संस्थाले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामार्फत राज्यको राजस्वमा पुर्‍याउँदै आएको योगदानलाई यो सम्मानले थप पुष्टि गरेको छ।

सन् २००४ मा स्थापना भएको नोबेल मेडिकल कलेज काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्था हो। विराटनगरमा सञ्चालित यस संस्थाले चिकित्सा तथा प्यारामेडिकल विषयमा अध्यापन गराउँदै आएको छ। चिकित्सा शिक्षा प्रदान गर्नुका साथै पूर्वी नेपाल र भारतको सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कलेजले अस्पतालका सेवा र शैक्षिक कार्यक्रमसमेत विस्तार गर्दै लगेको छ।

नोबेल मेडिकल कलेजको स्थापना र विस्तारसँग जोडिएको प्रमुख नाम हो डा। सुनील शर्मा। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा निजी लगानी विस्तार गर्दै आएका शर्माले नोबेललाई चिकित्सा शिक्षा तथा अस्पताल सेवाको क्षेत्रमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनकै लगानीमा काठमाडौंको सिनामंगल तथा भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेज सञ्चालनमा छन्।

चिकित्सा शिक्षा व्यवसायसँगै सार्वजनिक जीवनमा सक्रिय बनेका शर्मा नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति हुन्। उनले गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य उपचार तथा शैक्षिक सहयोगका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्।