काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाउनुभएको छ । 

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने असामान्य घटनाका रूपमा व्याख्या गर्नुभयो । पोखरेलले सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिनै गिरफ्तार गरिएको दाबी गर्नुभयो ।

उहाँले वर्तमान सरकारको कार्यशैली लोकतान्त्रिक चरित्रविपरीत रहेको आरोपसमेत लगाउनु भयो । विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास गर्ने तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय लोकतान्त्रिक अभ्यास हुन नसक्ने उहाँको भनाइ छ ।

नेपालमा विद्यार्थी आन्दोलनले नै विभिन्न राजनीतिक परिवर्तनको जग बसालेको स्मरण गराउँदै पोखरेलले विद्यार्थी र श्रमिक संगठनका गतिविधि नियन्त्रण गर्ने प्रयासले लोकतान्त्रिक अधिकार कमजोर बनाउने बताउनु भयो ।