काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायरको खेल हुँदैछ ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने भएको छ। पहिलो क्वालिफायरको खेल भारतको धर्मशाला मैदानमा मंगलबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ। दुवै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् ।

आरसीबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो ।
समान खेलमा समान अंक जोडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो । आईपीएल अन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुने भएका छन् । इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने भएको हो । इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आईपीएल क्रिकेटको फाइनल भिडन्त भने यहि जेठ १७ गते आइतबार हुने भएको हो ।