काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकामाथि शानदार जित हासिल गरेको छ।
र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाएका छन् । अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाएका थिए ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १ सय २० रन बनाउँदै शतकीय पारी खेलेका थिए ।
अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आउनुभएका इशान पाण्डेले ३० बलको सामना गरेर २० रन थपेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा योसँगै तीन खेल सकिएको छ । एक खेलमा नेपाल विजयी हुँदा दुई खेलमा स्कटल्याण्ड विजयी भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तालिकामा २६ खेल खेल्दा सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको हो । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानमा रहन आवश्यक छ ।