काठमाडौं काठमाडौँमा जारी आईसीसी विश्वकप लिग–२ मा स्कटल्यान्डले अमेरिका पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले पराजित गरेको हो । वर्षाले प्रभाविक खेलमा ओभर घटाएर जितका लागि ३२ ओभरमा दुई सय ४९ रनको लक्ष्य पाएको अमेरिकाले ३२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४६ रन मात्र बनाउन सक्यो । अमेरिकाले २६.४ ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ६० रन बनाउँदा पानी परेको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले शतकीय इनिङ्स खेलेका छन् । उनले ७५ बलमा पाँच चौका र आठ छक्का हानेका हुन् ।
त्यस्त,ै ओपनर स्मिथ पटेलले ७२, शुभम् रन्जनेले १६ र कप्तान मोनङ्क पटेलले रन बनाएका हुन् । बलिङमा स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफायान सरिफले दुई÷दुई विकेट लिएका छन् । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेटको क्षतिमा तीन सय २१ रनको विशाल योगफल तयार गरेको थियो ।
स्कटल्यान्डका लागि ओपनर फिन्ले म्याक्रिथले १०२ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७७ रन बनाएका छन् । जितसँगै स्कटल्यान्ड शीर्षस्थानमा उक्लिएको हो । लिगका ३० खेल सकेको स्कटल्यान्डले ३८ अङ्क बनाएको छ ।