काठमाडौं
आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि कीर्तिमानी पुरस्कार रकम घोषणा भएको छ ।
आगामी जुन र जुलाईमा इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने १०औँ संस्करणको प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कीर्तिमानी पुरस्कार रकम घोषणा गरेको हो । महिला टी–२० विश्वकप २०२६ को समग्र पुरस्कार रकम बढेर ८७ लाख ६४ हजार ६ सय १५ अमेरिकी डलर पुगेको छ ।
अघिल्लो संस्करणको तुलनामा अहिले पुरस्कार रकम १० प्रतिशतले बढेको हो । सन् २०२४ मा समग्र पुरस्कार रकम ७९ लाख ५८ हजार ७७ डलर थियो ।
यस पटक इतिहासमा पहिलो पटक १२ वटा टोली सहभागी हुने भएका छन् ।
यस पटक विजेता टोलीले २३ लाख ४० हजार डलर र उपविजेता टोलीले ११ लाख ७० हजार डलर पुरस्कार प्राप्त गर्ने भएका हुन् । त्यस्त,ै सेमिफाइनलमा पराजित हुने टोलीले ६ लाख ७५ हजार र समूह चरणमा जित्ने टोलीले हरेक पटक ३१ हजार १ सय ५४ डलर प्राप्त गर्ने भएका छन् । सहभागी सबै १२ टोलीले न्यूनतम २ लाख ४७ हजार ५ सय डलर पुरस्कार प्राप्त गर्ने सुनिश्चित भएको हो ।