गत मार्च २ तारिखमा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको कूल संख्या १ हजार ९ सय ५३ पुगेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी ६ हजार ३ सय ३ जना घाइते भएको जनाएको हो । मन्त्रालयका अनुसार गत बुधबार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३ सय ५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका हुन् । जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ । दक्षिण लेबनानमा विनाशको मात्रा बढ्दै जाँदा, आपतकालीन उद्धारकर्ताहरू विभिन्न क्षेत्रहरूमा खोजी र उद्धार कार्यमा संलग्न रहेका हुन् ।
जवाफमा हिजबुल्लाहले किर्यत शमोना र मेतुला लगायतका इजरायली सेनाको जमघट र उत्तरी बस्तीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको दावी गरेको छ । सोही समूहले लेबनानविरुद्धको इजरायली–अमेरिकी आक्रमण नरोकिउन्जेल आफ्ना कारबाहीहरू जारी रहने थप गरेको छ । पछिल्लो हवाई आक्रमण व्यापक तनावकोबीचमा आएको हो । जसका कारण लेबनानमा बढ्दो नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता बढाएको हो ।