इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका एएफपीले जनाएको छ । उनीहरूले अमेरिकाविरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो अन्त्येष्टि जुलाई ९ मा खामेनीको गृह शहर मशहदमा समापन हुनेछ । गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको ज्यान गएको थियो ।
अमेरिका–इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोज्तबा घाइते हुनुभएको थियो । अहिले मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ । खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूहमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो । खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो