विश्व बजारमा कच्चा तेलको मूल्य फेरि एक सय डलरप्रति ब्यारेल नाघेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको हर्मुज जलमार्गमा नाकाबन्दीको घोषणा गरेसँगै तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् । कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १ सय २ डलर पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य १ सय ४ डलरसम्म उकालो लागेको र यसले विश्व शेयर बजारमा समेत नकारात्मक प्रभाव पारेको सीएनएनले जनाएको हो । राष्ट्रपति ट्रम्पले इरानलाई आफूखुशी तेल बेच्न नदिने चेतावनी समेत दिनुभएको छ । जसका कारणसले खाडी क्षेत्रमा तनाव थप बढाएको हो ।
हर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल मार्ग मध्ये एक हो । त्यहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुन्छ । यता इरानी सेनाले हर्मुज जलमार्गमा आउने सैन्य जहाजहरूमाथि कडा कारबाही गर्ने जनाएको हो । जसले पश्चिम एशियामा सम्भावित युद्धको जोखिम झनै बढाएको छ । विश्लेषकहरुले तेलको मूल्य बढ्दै गएमा पेट्रोलियम पदार्थ महँगो हुने र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने जोखिम बढेको बताएका हुन् ।