काठमाडौं   इरानसँग वार्ता गर्न इस्लामाबाद पुग्नुभएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गर्नुभएको छ ।

यस भेटमा अमेरिकी उपराष्ट्रपतिका साथमा अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरु स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी थिए ।उक्त अवसरमा पाकिस्तानका तर्फबाट उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नक्वीको पनि उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्तामा प्रधानमन्त्री शरिफले यो वार्ताले क्षेत्रीय स्तरमा दिगो शान्ति स्थापनाका लागि एउटा बलियो आधारस्तम्भको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।उनले दुवै पक्षबीच समन्वय र सहजीकरण गर्न पाकिस्तान सदैव प्रतिबद्ध रहेको कुरा पुनः दोहो¥याएका छन् ।

भेटवार्ताका लागि इस्लामावाद पुगेका अमेरिकी प्रतिनिधिमण्डलसँगको यो संवाद हुनुअघि सोही दिन प्रधानमन्त्री शरिफले इरानी प्रतिनिधिमण्डलसँग पनि औपचारिक वार्ता गरेका थिए ।इरानी टोलीको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री सइद अब्बास अराघचीले गरेका थिए । प्रधानमन्त्री शरिफले दुवै देशका प्रतिनिधिहरूसँग अलग–अलग संवाद गरी शान्ति प्रक्रियालाई अघि बढाउने पहल गरिरहेका छन् ।