काठमाडौं  नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको जनाएको हो । ८ वटा देश सहभागी छनोट खेल यहि जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै मलेशिया, कतार र चीन रहेका हुन् । समूह ‘बी’ मा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन् । सोही समूहका शीर्ष दुई टोली एशियन गेम्समा छनोट हुने भएका हुन् ।

टी–२० फम्र्याटमा हुने एशियन गेम्स क्रिकेट आगामी सेम्टेम्बर १७ देखि अक्टोबर ३ तारिखसम्म जापानमा आयोजना हुने भएको छ । १० वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र आयोजक जापान स्वतः छनोट भइसकेका छन् । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेको क्यानले जनाएको हो ।