एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हासिल गरेको छ ।

सिङ्गापुरमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेशियालाई १ सय ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको हो । नेपालले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको मलेशियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको छ ।

मलेशियाका कप्तान सयद अजिजले ५४ रन बनाएका थिए । नेपालका शेर मल्लले ३ विकेट लिएका छन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनायो । नेपालका कुशल भुर्तेलले शतक बनाएका थिए । भुर्तेल ५४ बलमा १ सय २६ रन बनाएर आउट भएका हुन् । भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा १०औँ खेलाडी हुन् ।

भुर्तेलले यहि प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए । त्यस्तै, खेलमा आसिफ शेखले ६८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । मलेशियाका विरनदीप सिंहले ३ विकेट लिएका थिए । यो जीतसँगै नेपाल समूह विजेता बनेको छ । त्यस्तै, मलेशिया समूह उपविजेता बनेको छ । नेपाल र मलेशिया दुवै सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र मलेशियाले यसअघिको खेलमा चीनलाई पराजित गरेका थिए । त्यस्त,ै समूह ‘बी’ बाट हङकङ र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार हुने हङकङ र ओमानबीचको खेलले समूह विजेता टुङ्गो लाग्ने आयोजकले जनाएको हो ।