काठमाडौं ।

आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।

जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते । होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । महिला व्यक्तिगत ट्रायथलनमा भने चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् । उनकी हमवतन हुआङ आन्की दोस्रो तथा जापानकी मानामी हायासी तेस्रो भइन् । पौडीमा अर्को महिना १४ वर्ष पुग्न लागेकी यु जिदीले महिला २ सय मिटर बटरफ्लाइको छनोट चरणमा आफ्नै देशकी चाङ मोहनलाई करिब दुई दशमलव ७० सेकेन्डले पछि पारिन् ।

नागोयास्थित ३० हजार दर्शक क्षमताको रङ्गशालामा जापानका सम्राट नारुहितोले शनिबार प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । आयोजकले खर्च घटाउन परम्परागत खेलाडी गाउँ निर्माण नगरेका कारण ११ हजारभन्दा बढी खेलाडी र छ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।