एजेन्सी
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जीत हासिल गरेको छ ।
मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ५ विकेटले हरायो । साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव खनालले ३९ रन बनाए । साउदी अरबका इश्तियाक अहमद र मुहम्मद अतिफले २÷२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब ४९ ओभर २ बलमा १ सय ९० रन बनाउँदा अलआउट भयो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेशियालाई ६ विकेटले हराएको थियो । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ । प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।