काठमाडौं
ऐतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा शुरु हुँदैछ ।
विराटनगरस्थित सहिद रङ्गशालामा शनिबार साँझ ६ बजदेखिे हुने उद्घाट खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रस्टले जनाएको हो । सोही खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यहि मैदानमा आमनेसामने हुन लागेका छन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो । २०१८ सालमा ‘महेन्द्र गोल्डकप’ को नामबाट शुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यस पटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि अवसर दिइएको छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोलसँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता रहने भएको हो । आगामी वैशाख ५ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो ।