अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिम एशियामा जारी युद्धको प्रभावकाबीच पनि २३औँ संस्करणको फिफा विश्वकप २०२६ मा इरानको सहभागिता सुनिश्चित रहेको बताएका छन् ।

अध्यक्ष इन्फान्टिनोले खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्ने र योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउनुअनिवार्य रहेको बताएका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले आयोजना गरेको एक आर्थिक सम्मेलनमा बोल्दै उनले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताएका छन् । साथै उहाँले इरानी टोलीले आफ्ना नागरिकको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई खेल्नबाट रोक्न नहुने धारणा व्यक्त गरेका हुन् । यसअघि पनि उनले गत मार्च महिनामा टर्किएको अन्टाल्यामा भएको इरान र कोस्टारिकाबीचको मैत्रीपूर्ण खेलका क्रममा यस्तै धारणा सार्वजनिक गरेको छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खेलाडीहरूको सुरक्षाको बारमो चिन्ता व्यक्त गर्दै उनीहरू अमेरिका भ्रमणमा सुरक्षित नहुन सक्ने संकेत गर्नुभएको थियो। तालिका अनुसार इरानले आफ्नो समूह ‘जी’ अन्तर्गतका तीन खेल अमेरिकामै खेल्ने भएको छ। गत फेब्रुअरी २८ तारिखमा शुरू भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको थियो ।

त्यसक्रममा इरानले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गर्न आग्रह गरेको थियो । तर फिफाले त्यो प्रस्ताव अस्वीकार गरेको थियो । २३औँ संस्करणको फिफा विश्वकप आगामी जुन ११ तारिखदेखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुुने भएको छ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो । प्रतियोगितामा पहिलो पटक ४८ वटा टोली सहभागी छन् । जसलाई १२ वटा समूहमा बाँडिएको फिफाले जनाएको हो ।